बस दुर्घटना : तीन जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ । धरानबाट भोजपुरका लागि छुटेको को१ख २१७७ नम्बरको बस बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ । उक्त बस धनकुटा नगरपालिका–६ गोठगाउँमा सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ५१ वर्षीय रुद्र तामाङ, बसका यात्रु भोजपुरको भोजपुर नगरपालिका– ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका– ६ का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।