पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०८२ जेष्ठ ११ गते, शनिबार


काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा यातायात अवरुद्ध भएको छ । शुक्रबार राति परेको वर्षाका कराण बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको सडक भत्किएपछि सडक अवरुद्ध बनेको हो । बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भत्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाले जानकारी दिए । शुक्रबार राति करिब ११ बजेबाट अवरुद्ध सडक शनिबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
शनिबार बिहान पनि सामान्य वर्षा भइरहेकोले सडक मर्मतमा कठिनाइ भइरहेको र भत्किएको सडक पानी रोकिएपछि निर्माण कम्पनी, सडक विभागसँग समन्वय गरी शीघ्र सञ्चालनमा ल्याउन पहल भइरहेको बानियाँले जानकारी दिए । दाउन्ने सडक खण्ड केही दिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो । पछिल्लो समय सामान्य वर्षामा समेत कहिले सडक चिप्लो त कहिले पहिरोको कारण अवरुद्ध हुँदै आइरहेको छ ।
शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यो सडक हुँदै सञ्चालन हुने सवारीहरू रोकिएका छन् । अहिले पश्चिमबाट पूर्व जाने सवारी बर्दघाट र पूर्वबाट पश्चिम आउने सवारी दुम्किबास ज्यामिरेमा रोकिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु