१३ दिनअगावै मनसुन भित्रँदै

२०८२ जेष्ठ १६ गते, बिहीबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन तेह्र दिनअगावै नेपाल भित्रने जनाएको छ । विभागले प्री मनसुनले मनसुन भित्रनका लागि राम्रो वातावरण बनाए सँगै नेपालमा छिट्टै मनसुन भित्रन लागेको जानकारी दिएको हो । विभागको मौसम पूर्वानुमान महाशाखाले अबको दुई दिनभित्र नेपालमा मनसुन भित्रने जनाएको छ । भारतको आसाम र नेपालको नजिक मनसुनी जलवाष्पसहितको न्यूनचापीय प्रणालीको प्रवेश भइसकेको तथा बङ्गलादेश र भुटानका पूर्वी भेगमा मनसुन फैलिसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ तारिख हो ।
भूउपग्रह, वायुमण्डलीय र मौसम मोडेलबाट प्राप्त सूचना अनुसार पनि अबको दुई दिनभित्र नेपालमा मनसुन भित्रने तय रहेको महाशाखाले प्रस्ट पारेको छ । मनसुनको सुरुवातको सङ्केत गर्दै आज रातिदेखि नै नेपालका विभिन्न भू–भागमा बदलीसँगै राम्रो वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।
यस वर्षको मनसुनमा देशव्यापी रूपमा विगतको भन्दा अधिक वर्षा हुने प्रक्षेपण गरिएको छ । सरकारका तर्फबाट राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२’ ले देशभरका चार लाख ५७ हजार घरपरिवारका करिब २० लाख मानिस बाढी, पहिरो, भारी वर्षा, डुबानलगायतबाट प्रभावित हुने प्रक्षेपण गरेको हो ।
यस्तै मौसमी प्रक्षेपणलाई हल्का रूपमा लिएर जिउज्यान जोखिममा नपार्न पनि प्राधिकरणले आम नागरिकलाई आग्रह गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु