कारागारभित्र कैदीको शंकास्पद मृत्यु

काठमाडौँ । बैंकिङ कसुरमा पक्राउ परेका डडेल्धुरा भागेश्वर–५ का २८ वर्षीय व्यवसायी हरिश सिंह पालीको कैलाली जिल्ला कारागारभित्रै शंकास्पद् मृत्यु भएको छ। केही दिनअघि मात्र डडेल्धुराबाट पक्राउ गरी कारागार चलान गरिएका उनलाई असार दुई गते राति एक्कासी बिरामी परेको भन्दै सेती प्रादेशिक अस्पताल पुर्याइएकामा उपचारकै क्रममा मृृत्यु भएको थियो। तर, दुई दिनदेखि शव उठेको छैन। शवमा नीलडाम र चोटपटक देखिएकाले आफन्तहरुले भने कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
प्रहरी नायब निरीक्षक हरिजित नाथले दायर गरेको मुद्दामा दोषी ठहर भएका थिए। अदालतको फैसलामा रकम बुझाएपछि रिहा हुने भनिएकाले फैसला अनुसारको रकम नाथकै खातामा असार दुई गते मात्र पठाएको मृतकका काका पदम सिंह पालीले जानकारी दिए। कारागार भित्र निर्मम यातना दिएर उनको मृत्यु पालीको आरोप छ।
आफन्तहरूले कारागार प्रशासनसँग सीसीटीभी फुटेज माग्दा सुरुवातमा देखाउने भनिए पनि पछि ‘फुटेज बिग्रिएको’ भन्दै अस्वीकार गरेपछि घटना झनै शंकास्पद बनेको छ। घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको नभएसम्म शव नउठाउने अडान परिवारले राखेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नावय उपरीक्षक राजकुमार सिंहका अनुसार उपचारकै क्रममा उनको मृत्यु भएको हो। पीडित पक्षबाट केही जाहेरी आए शवको पोष्टमार्टम गरिने र थप कुरा थाहा हुने उनको भनाइ छ।
यता, उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुईजनाको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार एक युवक र एक बालिकाको शव फेला परेको हो। उनले भने, ‘अमलचौरीकै २८ वर्षीय रविन राई र १४ वर्षीय किशोरी मञ्जु राईको शव फेला परेको छ।’ आज बिहान मञ्जुको शव अमलचौरी गाउँको बाटोमा लडिरहेको र त्यसको दुई सय मिटर दुरीमा रविन झुन्डिएको अवस्थामा फेला परेको घटना स्थलबाट इन्स्पेक्टर राईले जानकारी दिए।
बिहानै स्थानीयले बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी पुगेर खोजतलास गर्दा दुईसयमिटर नजिक केटा रबिनको शव भेटिएको इन्स्पेक्टर राईको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले दुईजनाको शव फेला परेको र इलाका प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गरी शव उठाउनको लागि कानुनी प्रक्रिया अघि बढाएको जानकारी आएको बताए।