काठमाडौंमा रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी ल्याएर वितरण सुरु

२०८२ असार ४ गते, बुधबार


काठमाडौँ । मेलम्चीस्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौं ल्याएर वितरण गर्न सुरु गरिएको छ। काठमाडौं उपत्यकामा मेलम्चीको पानी नियमित रूपमा आपूर्तिका लागि उक्त खोलाबाट पानी ल्याएर वितरण गर्न सुरु गरिएको हो।
काठमाडौंमा वर्षातको समयमा पनि नियमित रूपमा मेलम्चीको पानी सञ्चालन गर्न मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको ट्यांकी सोमबार खानेपानीमन्त्री प्रदीप यादवसहितको टोली उक्त क्षेत्रमा पुगी उक्त ट्यांकीको सफल परीक्षण गरेको थियो।
परीक्षण सफल भएसँगै मेलम्चीको सुरुङमार्ग हुँदै सोमबार राति मेलम्चीको रिबर्मा खोलाबाट आठ करोड लिटर पानी काठमाडौं ल्याएर मंगलबारदेखि नियमित रूपमा वितरण कार्य सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवम् इन्जिनियर रत्नप्रसाद लामिछानेले जानकारी दिए। उनले भने, ‘काठमाडौंमा पानी पठाउनका लागि रिबर्मा खोलामा निर्माण गरिएको ट्यांकी सोमबार सफल परीक्षण गरिएको थियो। सोही राति त्यहाँबाट पानी पठाएर काठमाडौंमा ल्याएर अहिले आठ करोड लिटर थप पानी वितरण गरिंदैछ।’
मेलम्ची आयोजनाको हेडबक्स नबन्दासम्मका लागि अस्थायी रूपमा रिबर्मा खोलाको पानी मिसाएर काठमाडौं ल्याई वितरण कार्यको सुरुवात गरिएको कार्यकारी निर्देशक लामिछानेले बताए।
‘गत वर्ष पनि यहाँ वर्षातमा कति फोहोर हुने रहेछ भनेर पहिलेदेखि अध्ययन गरेका थियौं,’ उनले भने, ‘अघिल्लो वर्ष अध्ययन गर्दा यहाँको पानीमा कुनै समस्या देखिएको छैन, हिजो सोमबार पानी पठाई आज काठमाडौं पानी पुगेको छ।’
अहिले दैनिक २० करोड लिटर पानी मेलम्चीबाट आइरहेको र वर्षातको बेलामा रिबर्मा खोलाबाट ५ देखि ७ करोड लिटर पानी र बागमतीबाट पनि ५ देखि ७ करोड लिटर पानी गरी कम्तिमा पनि दसदेखि १४ करोड लिटर पानी यो वर्ष काठमाडौं ल्याउने गरी तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
रिबर्मा खोलाबाट ल्याइएको पानी काठमाडौंमा निर्माण भएका विभिन्न खानेपानी ट्यांकीमार्फत वितरण गर्दै उपत्यकावासीको दैनिक जीवनलाई सहज बनाउनका लागि यो आपूर्ति नियमित बनाइने तयारी समेत गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु