दाउन्नेमा ठूला सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । दाउन्नेमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएपछि मालवाहक ट्रकहरु जिल्लाका विभिन्न ठाउँमा रोक्न थालिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधनलाई गैँडाकोट, मुकुन्दपुर, रजहरलगायतका ठाउँमा रोकिएको जनाएको छ । दाउन्नेमा गाडीको चाप नहोस् भनेर गैँडाकोटबाट नै ट्रक रोकिएको हो ।
बुटवलबाट नारायणघाट जाने ट्रक भने बर्दघाटमा रोकिएका हुन् । ठूला र मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएर दाउन्नेमा सडक मर्मत गर्न लागिएको छ । दाउन्ने खण्डमा करिब पाँच सय टिप्पर ग्राभेल राखेर सडक सञ्चालनयोग्य बनाउन लागिएको छ । ठूला सवारीसाधन चौबीसै घण्टा तथा सबै प्रकारका सवारीसाधन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म यस सडकमा सञ्चालनमा रोक लगाइएको छ ।