बर्दघाट-दुम्किबास खण्ड बन्द

२०८२ असार २५ गते, बुधबार


काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको छ ।
वर्षापछि खुर्सानी खोलानजिक सडक भाँसिएसँगै सोही ठाउँमा लु१क ५८२७ नम्बरको ट्रक फसेपछि उक्त खण्डमा रातिदेखि नै यातायात पूर्णरुपमा बन्द भएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरु बर्दघाटको टिसिएनचोकमा र पूर्वबाट आएका सवारी साधनहरु दुम्किबासतर्फ रोकिएका छन् । सडक खुलाउने प्रयास भएपनि वर्षाका कारण केही समय लाग्ने डीएसपी पन्तले बताए ।
खुर्सानी खोलामा पटक-पटक सडक भासिदा सडक अवरुद्ध हुँदै आएको थियो । नारायणगढ–बुटवल सडक विस्तारको काम भइरहेपनि दाउन्ने खण्डको १४ किलोमिटर सडकको काम ढिला हुँदा बारम्बार सडक अवरुद्ध हुने गरेको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय मुस्ताङले उपल्लो मुस्ताङमा मंगलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जनाएको छ। नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो।
बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधिन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले सूचना संम्प्रेषण गरेको छ।
यसैगरी बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठेपुल बाढीले बगाएर क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ। उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित अन्दाजी चार सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए। उनका अनुसार बाढीले त्यस क्षेत्रमा मानवीय तथा पशुचौपायामा क्षति नभएको बताए।
बाढीको सतह अहिले केही मत्थर हुँदै गइरहे पनि त्यस क्षेत्रको सुरक्षा सावधानीका लागि इलाका प्रहरी कार्यालय छोेसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा नौ जनाको टोली खटिएको उनले उल्लेख गरे।
त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले स्थानीयलाई हुन सक्ने खतराको बारेमा सूचित गराइएको छ। अहिले त्यस क्षेत्रमा बाढीको बाहव कम भइसकेको भए पनि सम्भावित जोखिमको खतरा टरिनसकेकाले स्थानीयलाई आवश्यक सर्तकता अपनाउनसमेत जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]