खैरो हेरोइनसहित ४ जना पक्राउ

काठमाडौँ । कैलालीस्थित इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ गरेको छ । प्रहरीले भजनी नगरपालिका– ४ का २५ वर्षीय मनोज चौधरी, सोही स्थानका २१ वर्षीय बिक्रम चौधरी र २८ वर्षीय हनुमान चौधरी तथा घोडाघोडी नगरपालिका– १२ का २१ वर्षीय विशाल चौधरी भजनी नगरपालिका– ५ लालबोझीस्थित सडकमा चेकजाँच गर्ने क्रममा लागू औषधसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ५ ग्राम ६७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन), से ३ प ९२३६ र ग ६ प ८३७९ नम्बरका दुई वटा मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।