महाकाली नदीमा खसेर बुढाथोकी बेपत्ता

२०८२ असार ३१ गते, मंगलवार


काठमाडौँ । तुइन चुँडिदा २८ वर्षीय नारायण बुढाथोकी महाकाली नदीमा खसेर बेपत्ता भएका छन्। बुढाथोकी व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले आज दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुँडिदा नदीमा बेपत्ता भएको जानकारी दिए। नारायणसँगै स्थानीय २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न गएका थिए। नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरी भारतर्फ गएका थिए।
त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिदा बेपत्ता भएको प्रहरीले जनाएको छ। उक्त घट्नापछि जितु र नारायणसँगै गएका जयदुले भने तुइन चढ्न पाएनन्। बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक रावतले बताए।

प्रतिक्रियाहरु

[anycomment]