मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशको उच्चपहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको छ।
यस्तै, आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ।