बीपी राजमार्गमा साउन १ गतेदेखि राति यातायात सञ्चालनमा रोक

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेले बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाको छ । सुरक्षा समिति बैठकले काभ्रे सडकखण्डको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
मनसुन सक्रिय रहेकाले सम्भावित विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाउने निर्णय भएको बताइएको छ ।
गत असार ६ गतेदेखि नै राती सवारी साधन सञ्चालनमा रोक लगाइदै आएको छ । गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा क्षति भएको छ ।
बाढीपहिरोले राजमार्गको कूल १ सय ६० किमीमध्ये तेस्रो खण्ड अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा क्षति गरेको छ ।
क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियासमेत अघि बढेको छ ।