आर्थिक वर्ष २०८१ /०८२ मा ७ हजार ९४३ जना लागूऔषध अभियुक्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले आर्थिक वर्ष २०८१ /०८२ मा ७ हजार ९४३ जना स्वदेशी तथा विदेश लागूऔषध अभियुक्त पक्राउ गरेको छ।
जुन पक्राउ संख्या अघिल्लो आर्थिक वर्ष भन्दा १ हजार २ सय १ बढी हो। अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ६ हजार ७ सय ४२ जना पक्राउ परेका थिए।
प्रहरीको लागू औषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले गत आर्थिक वर्ष २०८१/०८२ मा पक्राउ पर्नेमा ७ हजार १९७ पुरुष, ४ सय २१ महिला, ३०७ भारतीय नागरिक र १८ अन्य मुलुकका नागरिक रहेको बताए।
सो अवधिमा लागू औषधका ५ हजार ११० मुद्दा दर्ता भएका छन्। यो अवधिमा २० किलो ९२८ ग्राम कोकिन, १८५ किलो ५८ ग्राम अफिम, ४८ किलो ४६५ ग्राम खैरोहोरोइन, ८२९ किलोग्राम चरेश र ५१४३९ ग्राम गाँजा बरामद भएको छ। त्यसैगरी एक वर्षको अवधिमा एम्पुल २२०,४१०, नाइट्राजेपाम ९३,४२४, कोडिन सिरप (कोरेक्स) ८९४० लगायत ठुलो मात्रामा अन्य लागूऔषध प्रहरीले बरामद गरेको छ।
अघिल्लो आर्थिक वर्ष भन्दा मन्त्री लेखकको कार्यकालको पहिलो वर्षमा कोकिन मात्रै ७ किलोग्राम विगत भन्दा बढी बरामद भएको ब्युरोको तथ्याङ्कबाट देखिन्छ।
ब्युरोको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा लागूऔषध सम्वन्धी ४ हजार १ सय मुद्दा दर्ता भई ६ हजार १८६ जना पक्राउ परेका थिए। भने आर्थिक वर्ष २०८०/०८१ मा ४४ सय २४ मुद्दा दर्ता भई ६ हजार ७४२ जना पक्राउ गरिएको थियो।
सवारी दुर्घटना बढ्नुका साथै आत्महत्या, साइबरक्राइम लगायत अपराधिक घटनाका पछाडी पनि लागूऔषध प्रयोग एउटा कारकका रुपमा देखिएको ब्युरोको भनाई छ।
खैरोहिरोइन, एम्पुल, नाइट्राजेपाम, टामाडोल लगायतका अन्य औषधि मुलुकभित्र प्रयोग बढ्दो रहेको छ। भने कोकिन, अफिम, चरेश र गाँजा भारत तस्करी हुने गरेको छ। प्रहरीले देशभरका जिल्ला प्रहरी कार्यालयमा अभियुक्तहरु विरुद्ध मुद्दा चलाउँदै आएको छ भने लागू औषध नियन्त्रण ब्युरो र ब्युरो मातहतका दश वडा कार्यालय यसको नियन्त्रणमा सक्रिय छन्। ब्युरोको विवरण अनुसार पनि गत आर्थिक वर्षमा मात्रै १६ सय ७५ जनालाई मुद्दा चलाइएको छ। अघिल्लो आर्थिक वर्षमा ब्युरोले ११ सय ९३ जना विरुद्ध मुद्दा चलाएको थियो। भने आर्थिक वर्ष २०७९/०८० मा ब्युरोले ९ सय ३७ जना विरुद्ध मुद्दा चलाएको थियो। विवरण अनुसार ब्युरोको सक्रियता बढेकै कारण अभियुक्तहरु पक्राउ पर्ने क्रम बढेको छ।
त्यसैगरी सशस्त्र प्रहरी बलले लागूऔषध नियन्त्रणका लागि सक्रियता बढाएको छ। बितेको एक बर्षमा सशस्त्र प्रहरी बलले लागूऔषध कारोबार तथा ओसार पसारमा संलग्न ४ सय ६० जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बलले ‘नशा रहित युवा–हाम्रो देशका कर्णधार, सिमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ लागूऔषध नियन्त्रणमा जुटेको छ। सशस्त्र प्रहरी बलले यो अवधिमा ठुलो मात्रामा लागूऔषध समेत सीमानाका क्षेत्रबाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले जानकारी दिए।