बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही तराईका भूभागमा आंशिक बदली रहने छ ।
सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै र मधेस प्रदेशलगायत बाँकी तराई भूभागका एकदुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही तराईका भूभागमा आंशिक बदली रहने छ । मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।