८१ वर्षको उमेरमा नागरिकता !

२०८२ श्रावण १८ गते, शनिबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय उदयपुरले चौदण्डी गढी नगरपालिका– १ की ८१ वर्षीया कालमाया राई नागरिकता प्रदान गरिएको जनाएको छ । चौदण्डी गढी नगरपालिका– १ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा राईले नागरिकता प्राप्त गरेकी हुन् ।
खोटाङको जन्तेढुङ्गा गाउँपालिका जन्मघर भएकी वृद्धा राईको चौदण्डी गढी नगरपालिका– १ मा विवाह भएर आएपछि पनि नागरिकता प्रमाणपत्र लिन ढिलाइ गरेको र १५ वर्ष अघि नै श्रीमानको मृत्यु भएपछि वृद्धालाई नागरिकता लिन झनै समस्या भएको थियो ।
बुढेसकालमा नागरिकताविहीन वृद्धलाई सामाजिक सुरक्षाभत्ता र राज्यबाट प्राप्त हुने अन्य सेवासुविधाबाट समेत वञ्चित हुनुपरेकाले वडाध्यक्षको रोहबरमा नागरिकता दिलाइएको हो ।
राईले यसअघि देखिनै नागरिकता लिने प्रयास गरेको भए पनि आफन्त कसैले चासो नदिएको र ज्ञानको अभावबाट नागरिकता प्रमाणपत्रबाट वञ्चित हुँदै आएकी थिइन्।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार चौदण्डी गढी– १ का वडा प्रतिनिधिहरूको रोहबरमा वृद्धा राईले नागरिकता लिएको र अब उनले सामाजिक सुरक्षा भत्ताको लागि पनि तत्कालै पहल र राष्ट्रिय परिचयपत्रको नम्बर पनि व्यवस्था गरिएको प्रजिअ लुइँटेलले बताए ।

वास्तविक नेपाली नागरिक भएर नागरिकता प्रमाणपत्रबाट वञ्चित हुनु दुःखद भएको प्रजिअ लुइँटेलले बताए । वृद्धा राईको तीन भाइ, दुई सन्तान रहेको चौदण्डी गढी– १ का वडाध्यक्ष राईले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]