त्रिभुवन विमानस्थलमा भिजिटर पास वितरण बन्द

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको विमानस्थल कार्यालयले सूचना निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भिजिटर पास वितरण बन्द गरेको जनाएको छ। ।
सूचनामा भनिएको छ-‘व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, फरक क्षमताका व्यक्ति, गर्भवती एवं नाबालकलाई सहायता कक्षको व्यवस्था गरिएको विदितै छ। ‘ह्वीलचेयरलगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजीकरण भइरहेको छ। चेक इन ब्यागेज संख्या र अधिकतम तौलको सीमा हवाई टिकटमा नै उल्लेख हुने भएकाले सोही व्यवस्थालाई पालना गरिदिन हुन अनुरोध छ।’
यो सूचना अनुसार अबदेखि यात्रुका आफन्त भिजिटर पास लिएर टर्मिनल भवनभित्र प्रवेश गर्न पाउने छैनन्। विमानस्थल प्रशासनले यसअघि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत भिजिटर पास वितरण गर्दै आएको थियो।