आजदेखि तीनदिन भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

२०८२ आश्विन १७ गते, शुक्रबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि असोज २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ । हालको विश्लेषण अनुसार उक्त अवधिमा देशको नारायणी, बागमती, कमला र कोशी नदी र यी नदीका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।
विशेषगरि बागमती प्रदेशका काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश प्रदेशका वारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १८-२० सम्म विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
नेपालमा मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा यस विभागले मौसम र बाढीको संभावित विषम अवस्थाको नियमित अनुगमन गरिरहेको छ । तसर्थ, यस विभागबाट वेभसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा (११५५) तथा एसएमएस लगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन हुन सबैमा महाशाखाले अनुरोध गरेको छ ।
उल्लेखित पूर्वानुमानका आधारमा उत्पन्न हुन सक्ने बाढी, डुबान, पहिरो, भू-क्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राखी सम्भावित क्षति न्यूनिकरणका लागि विभागबाट नियमित रूपमा जारी हुने पूर्वानुमान तथा पूर्वसूचनाहरू छिटो प्रबाह गरी पूर्वतयारी र आवश्यक पूर्वकार्यमा जुट्न विभाग विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सबै निकायहरू र आमसर्वसाधारणलाई महाशाखालेअपिल गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]