त्रिभुवन राजपथ र बीपी राजमार्गमा राति गाडी चलाउन रोक

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र काभ्रेले त्रिभुवन राजपथ र बीपी राजमार्गमा राति गाडी चलाउन रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने सवारी साधनलाई शुक्रबारदेखि चार दिनलाई राती आवतजावत गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जल तथा मौसम विज्ञानद्वारा मौसमको पूर्वानुमान अनुसार मकवानपुर जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेकाले जनधनको क्षति हुन नदिन हेटौंडा–काठमाडौं चल्ने सवारी साधनलाई राती आउजाउ गर्न रोक लगाएको हो ।
प्रशासनले त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र भैसे भीमफेदी हुँदै राजधानी प्रवेश गर्ने सवारी साधनलाई शुक्रबार अपरान्ह ५ बजेदेखि बिहान ६ बजेसम्म आउजाउ गर्न रोक लगाइएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा हुँदै कान्तिलोकपथबाट उपत्यका प्रवेश गर्ने सवारी साधनलाई शुक्रबार अपरान्ह ४ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधनमा रोक लगाएको छ ।
सोमबार अर्थात् असोज २० गतेसम्म सवारी साधनलाई उक्त सडक मार्ग भएर राती आउजाउ गर्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी , बीपी राजमार्गमा आजदेखि २१ गतेसम्म राति गाडी चलाउन रोक लगाइएको छ । स्थानीय प्रशासनले असोज १६ गतेदेखि २१ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक र निजी यात्रुबाहक सवारीसाधन सन्चालनमा रोक लगाएको हो ।
मनसुन सक्रिय हुन लागेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि काभ्रे भञ्ज्याङ्ग–भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा आवतजावत गर्ने अत्यावश्यक सेवाका बाहेक सबै सवारी साधन रातिको बेला नचलाउने निर्णय भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काभ्रे जिल्लामा पनि भारी वर्षाको सम्भावना उच्च रहेको उच्च सतर्कता अपनाउन भनेको थियो । त्यसपछि जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमन निषेध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधनहरु रोक्न सक्नेछन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले एक विज्ञप्ति प्रकाशन गर्दै असोज १६ गतेदेखि २१ गतेसम्म अत्यावश्यक नभइकन बाहिर नजान, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्न र पहिरोको जोखिममा रहेका क्षेत्र तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
गत वर्षको असोज ११ र १२ गतेको वर्षा, बाढी र पहिरोले बीपी राजमार्ग क्षतविक्षत बनाएको थियो । क्षति पुगेका ठाउँमा अहिलेसम्म पनि पुनर्निर्माणको काम सकिएको छैन । त्यसले यसपालिको वर्षामा क्षतिको जोखिम कायमै रहेको हो ।
त्यसैले बीपी र अरनिको राजमार्गका आयोजनाहरु (सडक डिभिजन भक्तपुर र सूर्यविनायक–धुलिखेल सडक आयोजना) ले तुरून्त परिचालन हुने गरी डोजर, एस्काभेटर, लोडर लगायतका साधनहरू तयारी अवस्थामा राख्ने, पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्न सरोकारवाला संस्थाहरू अलर्टमा रहने लगायतका निर्णय गरेको छ ।