नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी आवागमन बन्द

काठमाडौँ । ट्राफिक प्रहरी चितवनले गए रातिदेखि नै अविरल वर्षात भइरहेकाले नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी सञ्चालन बन्द गरेको छ। तुइन खोलामा अहिले बाटो एकतर्फी छ। तर ढुंगा खस्न नरोकिएपछि शनिबार बिहानैबाट सवारी सञ्चालनमा रोक लगाइएको चितवन ट्राफिकले जानकारी दिएको हो।
‘तुइन खोलामा पहिरो, केही स्थानहरूमा ढुङा खस्ने क्रम जारी रहेकोले सम्भावित जोखिमलाइ मध्यनजर गर्दै हाललाई चितवनस्थित राजमार्गमा सवारी आवामन बन्द गरिएको छ,’ चितवन ट्राफिकले फेसबुकमा सूचना राख्दै भनेको छ।
सडक डिभिजन भरतपुरले पनि मुग्लिन–नारायणगढ सडक खण्डमा पानी परिरहेकाले जोखिम बढेको बताएको छ।
‘सवारी आवागमन सञ्चालनमा रहे पनि पानी परिरहेको र यस खण्डमा उच्च जोखिम बढेकोले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्नुहुन यात्रा गर्नुपर्ने भए सम्बन्धित निकायसँग समन्वय गर्नुहुन हार्दिक अनुरोध गर्दछौं,’ सडक डिभिजन भरतपुरले भनेको छ।