इलाममा पहिरो : २ जनाको मृत्यु, कम्तिमा १५ जना बेपत्ता

२०८२ आश्विन १९ गते, आईतवार


काठमाडौँ । इलाममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने कम्तिमा १५ जना बेपत्ता भएको स्थानीयले बताएका छन् । इलाम प्रहरीका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका स्थानमा घर पुरिएको प्रारम्भिक विवरण आएको छ । तर कठिन भूगोलका कारण प्रहरी पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।इलामको इलाम नगरपालिका वडा नं. ६ घोसमा पहिरोले पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ बालबालिकाको मृत्यु भएको हो । घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ । २ जना घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको स्थानीय युवा रेवज तामाङले जानकारी दिएका छन् ।
यसैगरी माईजोगमाई गाउँपालिका–६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना पहिरोमा बेपत्ता छन् । त्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन् । माङ्सेबुङमा पनि पहिरोमा ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लामा बाढी पहिरोले क्षति पुर्‍याए पनि संख्या एकिन हुन बाँकी रहेको बताइन् । पानी पर्न रोकिएकाले बिहानैदेखि खोज तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिइन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु