गुडिरहेको यात्रुवाहक बसमा आगलागी !

काठमाडौँ । काठमाडौंबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब ७ः२० बजे ब्याट्रीको तार सर्ट भएर आगो लागेको बताइएको छ। आगलागीबाट बस पूर्णरूपमा जलेर नष्ट हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको बस सञ्चालकले जनाएका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार, बसको ब्रेक जाम भएर तार सर्ट भएपछि गाडी एक्कासी रोकिएको थियो। बस रोकिनासाथ यात्रुहरू सबै बाहिर निस्केकाले कुनै पनि मानवीय क्षति हुन पाएन।
घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा बारुण यन्त्र परिचालन गरी आगो करिब सवा ८ बजे नियन्त्रणमा लिइएको थियो। आगलागीका कारण पूर्व-पश्चिम राजमार्ग केही समयका लागि अवरुद्ध भए पनि अहिले सवारीसाधनको आवागमन सहज बनेको डीएसपी लाबुङले बताएकी छिन्। प्रहरीले आगलागीको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।