आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै
काठमाडौँ । आज कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।
बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबार सुरु भएको हो।
षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ। कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ।
