यस वर्ष सरदरभन्दा बढी वर्षा, गत वर्षको तुलनामा क्षति कम

२०८२ कार्तिक २७ गते, बुधबार


काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा २ हजार १३९ घटना भएकामा यस वर्ष एक हजार ४५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष ४९५ जनाको निधन भएकामा यस वर्ष १४० जनाको ज्यान भएको छ । गत वर्ष विपद्का कारण १० हजार ८२३ घरपरिवार प्रभावित भएकामा यस वर्ष पाँच हजार ९९५ घरपरिवार प्रभावित भएका छन् । विपद्मा परेर गत वर्ष ६६ जना बेपत्ता भएकामा यस वर्ष ३० जना बेपत्ता भएका छन् । गत वर्ष विपद्जन्य घटनामा परेर ५२२ जना घाइते भएकामा यस वर्ष ३०० जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
प्राधिकरणका अनुसार, यस वर्ष बाढीका २९२, पहिरोका ५१३, भारी वर्षा ३९७ र चट्याङका २५२ वटा घटना भएका थिए । बाढीमा परेर ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते हुँदा तीन हजार दुई सय घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए । यस्तै पहिरोमा परेर ६७ जनाको मृत्यु, चार जना बेपत्ता र ७७ जना घाइते भएका थिए भने एक हजार ५१८ घरपरिवार प्रभावित भएका छन् । भारी वर्षाका कारण ७ जनाको मृत्यु, २० जना घाइते भए भने ९सय ६६ घरपरिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार, चट्याङमा परेर २९ जनाको मृत्यु, १८९ घाइते हुँदा ३११ घरपरिवार प्रभावित भएका छन् । यस वर्ष मनसुन सरदरभन्दा बढी अवधिसम्म रह्यो । सरदरभन्दा केही दिनअघि अर्थात् २०८२ जेठ १५ गते नेपाल प्रवेश गरेको मनसुन एक सय ३५ दिन रहेर गत असोज २४ गते बाहिरिएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन अवधिमा १ हजार ३७५ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । जुन सरदर १ हजार ४१५ दशमलव ५ मिलिमिटर वर्षाको तुलनामा ९७ दशमलव २३ प्रतिशत हो । औसतभन्दा बढी वर्षा भएपनि मानवीय तथा भौतिक क्षति विगत वर्षको तुलनामा कम भएको थियो । मनसुनको अन्त्यतिर अर्थात् गत असोज १७ देखि २० गतेसम्म ५३ जनाको ज्यान गएको थियो । मनसुनमा मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित भएको थियो । इलाममा मात्रै ३९ जनाको ज्यान गएको थियो । सरकारले इलामलाई ३ महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । रसुवाको भोटेकोशीमा गत असार २४ गते गएको बाढीका कारण १८ जना बेपत्ता भएकामा ११ वटा शव तथा मानव अंग फेला परेको थियो । बाढीले रसुवागढी नाकामा रहेको मितेरी पुल बगायो । सुक्खा बन्दरगाह र तीन वटा जलविद्युत् आयोजानमा अर्बौको क्षति भयो । कार्गोसहित ७६ वटा गाडी बगायो ।
मनसुनको सुरुवातमा मधेश प्रदेशमा सुक्खाको समस्याबाट प्रभावित भयो । सरकारले मधेश प्रदेशलाई गत साउन ८ गते तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गरी सबै निकायलाई एकीकृत रुपमा परिचालन गरेका कारण क्षति कम भएको अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा कमाण्ड सेन्टर स्थापना गरी लगातार ३८ घण्टासम्म स्म्बन्धित सरोकारवालासँग समन्वय तथा निर्देशन जारी भएको थियो ।
यस्तो छ १० वर्षको विवरण
प्राधिकरणका अनुसार, २०७३ सालमा छ सय ४२ विपदजन्य घटना भई दुई सय ८९ जनाको निधन भएको थियो । यस्तै, २०७४ मा छ सय २४ वटा विपदजन्य घटनामा परेर दुई सय ८९ जनाको ज्यान गएको थियो । प्राधिकरणका अनुसार, २०७५ मा छ सय ९३ विपदजन्य घटनामा परेर एक सय २२ जनाको ज्यान गयो । यस्तै, २०७६मा आठ सय ४६ विपदजन्य घटनामा परेर दुई सय तीन जनाको निधन भएको थियो । यस्तै, २०७७ मा एक हजार १५ विपदजन्य घटनामा परेर तीन सय ८२ जनाले अकालमा ज्यान गुमाउनु पर्‍यो ।
प्राधिकरणको विवरण अनुसार, २०७८ मा सात सय ३७ विपदजन्य घटनामा परेर एक सय ६५ जनाको निधन भयो । त्यस्तै, २०७९ मा सात सय १२ वटा विपदजन्य घटनामा परेर एक सय ७९ जनाको ज्यान गयो । त्यसैगरी, २०८० मा आठ सय ९१ वटा विपदजन्य घटनामा परेर ९२ जनाको ज्यान गयो । विसं २०८१ मा दुई हजार एक सय ३९ वटा विपदजन्य घटनामा परेर चार सय ९५ जनाको निधन भएको प्राधिकरणले जनाएको छ ।
~रासस

प्रतिक्रियाहरु

[anycomment]