आज अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस
काठमाडौँ । आज डिसेम्बर ३ अर्थात् अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस । अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।
यसैक्रममा आज ३४औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
यस वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ । हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ ।
अपाङ्गताभएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उहाँहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने अनिवार्य आवश्यकता रहेको छ ।
नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भएपनि व्यवहारिक रुपमा पूर्ण कार्यान्वयन हुनुपर्ने माग उठ्दै आएको छ ।
