हेटौंडामा सडक बिस्तारको काम अघि बढ्यो
काठमाडौँ । हेटौंडामा सडक बिस्तारको काम अघि बढाइएको छ ।बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ ।
सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ ।
सडक डिभिजनले गत ५ मंसिरमा महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) विस्तारका लागि भन्दै सडक सीमाभित्रका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिँदै सूचना निकालेको थियो । उक्त अल्टिमेटमको अन्तिम दिन शुक्रबार थियो ।
यता , सडक विस्तार योजनालाई लिएर उत्प्रेषणको रिट दायर भएपछि सर्वोच्च अदालतले सडक विस्तार कार्यमा ‘कारण देखाऊ’ आदेश जारी गरी अल्पकालीन अन्तरिम आदेशमार्फत संरचना नहटाउन निर्देशन दिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्वसांसद विन्दबासिनी कंसाकारले मंसिर १६ गते दायर गरेको रिटमाथि शुक्रबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सुनुवाइ गर्दै सडक विस्तार कार्यमा तत्काल रोक लगाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
