काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्रीमा झर्यो
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दो क्रममा रहेको जनाएको छ । बिहीबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ । यस वर्षको मापनमा यो कम तापक्रम हो । सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम बुधबार (मंसिर २४) ५.५, मंगलबार (मंसिर २३) ६.२ डिग्री थियो ।
बिहीबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –४.४ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम बुधबार –४.१, मंगलबार –४.६ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
यस दिन डडेलधुराको न्यूनतम तापक्रम ४.७, ताप्लेजुङको ५.७, दिपायलको ६.३, ओखलढुंगाको ७.८, वीरेन्द्रनगरको ८.१, पोखराको ८.६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । सन् १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम माइनस ३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।
देशमा हाल मौसमसम्बन्धी कुनै चेतावनी जारी गरिएको छैन । यहाँ कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ ।
