काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको जनाएको छ ।महाशाखाले आज बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ । काठमाडौंमा यस वर्षको मापनमा यो कम तापक्रम हो । आउँदा दिन तापक्रम थप घट्ने सम्भावना हुन्छ । सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम सोमबार (पुस ७) ६.८, आइतबार (पुस ६) र शनिबार (पुस ५) समान ५.५ डिग्री थियो । गएको मंसिर २८ गते काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री थियो ।
मंगलबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –३ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम सोमबार –१ र आइतबार –२.३ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
आज वीरेन्द्रनगरको न्यूनतम तापक्रम ५.७, ओखलढुंगाको ७.२, दिपायल र घोराहीको समान ७.८, पोखराको ८.८, ताप्लेजुङको ९.५, डडेलधुराको ९.७ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । सन् १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम माइनस ३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।
देशमा हाल पश्चिम वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको भनेको छ -“देशका तराई भूभागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ। ”
