मिनी ट्रक दुर्घटना: ४ जनाको मृत्यु
काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ बाउनडाँडामा गएराति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक राति करिब ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परी ट्रक चालक ललितपुरकै गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही स्थानका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी ट्रकमा सवार अन्य दुई जना अन्दाजी ४० र ५० वर्षका पुरुषको उपचारका क्रममा पाटन अस्पताल मा मृत्यु भएको छ। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। अस्पतालमा ज्यान गुमाउने दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
