सहकारी ठगी प्रकरणमा संलग्न १३ हजार बढी ऋणीहरुको बैंक खाता रोक्का !
काठमाडौँ । समस्याग्रस्त सहकारीहरूको व्यवस्थापनका लागि गठित समितिले सहकारी ठगी प्रकरणमा संलग्न १३ हजार बढी ऋणी सदस्यहरुको बैंक खाता रोक्का गरिएको जनाएको छ । समितिले सहकारी ठगी प्रकरणमा संलग्न १३ हजार बढी ऋणी सदस्यहरुको बैंक खाता रोक्का गर्नुका साथै उनीहरुको शेयर लगानी तथा चल–अचल सम्पत्ति समेत रोक्का गरिएको जनाएको छ । हाल बचतकर्तालाई सम्पूर्ण बचत रकम तत्काल फिर्ता गर्न चुनौतीपूर्ण अवस्था सिर्जना भएको जनाइएको छ। बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई प्रभावकारी र छिटो बनाउन यस्तो निर्णय गरिएको समितिले जनाएको छ। समितिले आगामी दिनमा ऋण असुली प्रक्रिया थप कडाइका साथ अगाडि बढाइने जनाएको छ। समितिले समस्याग्रस्त सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कामलाई निरन्तर अघि बढाइरहेको जनाएको छ। हालसम्म ७४ हजार ३ सय ७ जना बचतकर्ताबाट ४४ अर्ब ४८ करोड ९० लाख ५ हजार ६ सय २६ रुपैयाँ बराबरको बचत मागदाबी परेको छ। सरकारले समस्याग्रस्त घोषणा गरेका अधिकांश सहकारी संस्थाहरूमा पूँजी पर्याप्त नभएको र असुली हुन नसक्ने कर्जाको अनुपात अत्यधिक रहेको पाइएको छ।
