काठमाडौँको अधिकतम तापक्रम २५.४ डिग्री सेल्सियस
काठमाडौँ । देशभरका सहरमा तीन दिनयता अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्दा तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमश: बढ्दै गएको छ । राजधानी काठमाडौंमा फागुन २६ गते अधिकतम तापक्रम २०-२२ डिग्री सेल्सियस रहेकोमा शनिबार बढेर २४ डिग्री पुगेको थियो । बिहीबार(आज) मध्यान्हसम्म भने २५.४ डिग्री सेल्सियस पुगेको छ । आजै राति न्यूनतम तापक्रम भने १५–१७ डिग्रीकै हाराहारीमा रहने अनुमान गरिएको छ ।
यसैगरी मध्यान्हसम्म सबैभन्दा बढी सिराहा र बाँकेको अधिकतम तापक्रम ३१ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । सो समयमा मनाङ हुम्दे विमानस्थलको अधिकतम तापक्रम भने ३.२ डिग्री सेल्सियस रहेको छ । आज विराटनगरमा ३१–३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । त्यस्तै नेपालगञ्जमा भने ३०–३२ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ । गण्डकी प्रदेशको पोखरामा आज २६–२८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रतर्फ जुम्लामा २३–२५ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ, भने जोमसोममा पनि १७–१९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
समग्रमा आगामी तीन दिनमा देशका अधिकांश सहरमा दिउँसोको तापक्रम क्रमश: बढ्ने तथा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज देशका अधिकांश स्थानमा मौसम सफा रहेको छ । ‘हावाको आर्द्रता बढेसँगै तापक्रममा पनि वृद्धि भएको छ । आगामी दिनहरूमा देशभर क्रमश: तापक्रम बढ्दै जाने सम्भावना रहेको छ,’ उनले भने । –रासस
