२४ घण्टामा १,१५१ सवारी चालकलाई कारबाही !

२०८३ श्रावण ९ गते, शनिबार


काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १५१ वटा सवारी साधन तथा चालकहरू कारबाहीमा परेको जनाएको छ । कार्यालयले साउन ९ गते बिहान ६ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै सडक सुरक्षालाई कडाइ गर्ने क्रममा उक्त कारबाही गरिएको जनाएको हो । प्रहरीको विवरण अनुसार विभिन्न सामान्य ट्राफिक कसुरमा सबैभन्दा बढी ७३७ जना कारबाहीमा परेका छन्। त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने ११३ जना, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी हाँक्ने ८७ जना र लेन अनुशासन उल्लङ्घन गर्ने ८७ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।
यसैगरी, एकतर्फी (वन-वे) सडक नियम मिच्ने ३४ जना, रातो बत्ती (रेड लाइट) पालना नगर्ने ३२ जना र अनावश्यक हर्न प्रयोग गर्ने ३३ जनालाई पनि जरिवाना गराइएको छ। त्यसैगरी, यान्त्रिक अवस्था ठीक नभएका २१ वटा सवारी साधन र अन्य प्राविधिक त्रुटि भएका ७ वटा सवारी साधनमाथि पनि कारबाही गरिएको छ।
उपत्यकाको सडक सुरक्षालाई थप व्यवस्थित र सुरक्षित बनाउन नियमित निगरानी तथा कारबाही अभियानलाई तीव्रता दिइएको भन्दै ट्राफिक प्रहरीले सम्पूर्ण सवारी चालकहरूलाई जिम्मेवार बनेर नियमको पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु