१३ बर्षिय निशियाद्वारा ओलम्पिकमा स्वर्ण पदक जित

काठमाडौं। जापानकि १३ बर्षिय मोमिजी निशियाले स्ट्रिट स्केटबोर्डिङमा स्वर्ण पदक जित्दै ओलम्पिकको इतिहासमा सबैभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने खेलाडीहरुको सूचीमा सामेल भएकी छिन् । मोमिजी निशियाको उमेर पदक जितेको दिन सोमबार १३ वर्ष ३३० दिन थियो । ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने विश्वरेकर्ड बनाउनबाट भने उनी चुकिन् । ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने खेलाडीको रेकर्ड अमेरिकाकी मार्जोरी गेस्ट्रिङको नाममा छ । मार्जोरी गेस्ट्रिङले १९३६ मा भएको बर्लिन ओलम्पिकमा ३ मिटर स्प्रिङबोर्डमा स्वर्ण पदक जितेकी थिइन् । त्यतिबेला उनको उमेर १३ वर्ष २६८ दिन थियो ।
द जापान टाइम्सका अनुसार मोमिजी निशिया ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने जापानी बनेकी छिन् । यस पटक ओलम्पिकमा पहिलो पटक स्केटबोर्डिङ खेल समावेश गरिएको थियो । यो खेलमा ब्राजिलकी रेसा लिल पनि सहभागी भएकी थिइन् । उनले रजत पदक जितिन् । यदि रेसाले स्वर्ण पदक जित्न सकेको भए उनले ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण जित्ने खेलाडीको रेकर्ड बनाउने थिइन् । उनको उमेर सोमबार १३ वर्ष २०३ दिन भयो । मोमिजी निशियाले यसै वर्ष इटलीमा भएको विश्व च्याम्पियनशिपमा रजत पदक जितेकी थिइन् ।