नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टारलाई

२०७९ पुष २८ गते, बिहीबार


काठमाडौ । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टारले जितेको छ । टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो । लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रनमा समेटियो । विराटनगरका लागि अर्जुन साउदले ३४, पृथु बास्कोटाले ३१ र हुसेन तलतले १३ रन बनाए । लुम्बिनीका लागि हरमित सिंह र सागर ढकालले दुई दुई तथा विपुल शर्मा र किशोर महतोले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ३३ रन बनाएको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१, हरमित सिंहले ३०, कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा इशान पाण्डेले १८ रन बनाए । विराटनगरका लागि रान नानन र नन्दन यादवले दुई दुई तथा हुसेन तलत, कियोन जोशेफ, सुर्य तामाङ र कप्तान रोहित पौडेलले एक एक विकेट लिए । विजेता लुम्बिनीले उपाधिसँगै ५५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता विराटनगरले ३० लाख नगद पाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]