एसिसी प्रिमियर कप वैशाखमा

२०७९ चैत्र ५ गते, आईतवार

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई आयोजनाको जिम्मा दिएपछि आउँदो वैशाखमा नेपालमा एसिसी प्रिमियर कप हुने भएको छ । त्यस कार्यको लागि नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको तयारीमा जुटेको छ । पछिल्लो समय कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्वकप–२ को दुई त्रिकोणात्मक सिरिज आयोजना गरेको नेपालले यसपटक भने दुई मैदानमा एकदिवसीय फम्र्याटमा खेलाइने प्रिमियर कप आयोजना गर्न लागेको हो ।
त्रिवि मैदानसँगै माथिल्लो मूलपानी मैदानमा प्रतियोगिता सञ्चालन गर्न तयारी भईरहेको क्यानले जनाएको छ । प्रतियोगिता वैशाख ११ मा सुरू भएर वैशाख २५ मा सकिनेछ । प्रतियोगितामा नेपालसहित १० राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा नेपालसहित कुवेत,कतार,साउदी अरेबिया र युएई छन् । समूह ‘बी’ मा बहराइन, हङकङ, मलेसिया, ओमान र सिंगापुर छन् । प्रतियोगितामा समूह चरण,सेमिफाइनल र फाइनल गरी २४ खेल हुनेछन् ।
साउदी अरेबिया र बहराइन एसिसी च्यालेन्ज कपको विजेता र उपविजेताको रुपमा प्रिमियर लिगमा छनोट भएका थिए । प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ । एसिया कप पाकिस्तानमा हुने बताइएको छ तर, भारतले भने सहमति जनाएको छैन् ।

प्रतिक्रियाहरु

[anycomment]