क्रिकेटर राजवंशी र कँडेल सम्मानित

२०७९ चैत्र ७ गते, मंगलवार

काठमाडौं । नेपाल खेलकुद महासंघ मोरङले राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेललाई सम्मान गरेको छ । महासंघले सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
दीपेशले युएईको यु–१९ टोलीविरुद्ध ह्याट्रिक विकेट लिएर नेपाललाई यु–१९ विश्वकपमा छनोट गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ललितले विश्वकप लिग–२ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
महासंघले ललितका बुबा–आमालाई पनि सम्मान गरेको छ । ललित र दिपेशलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले पनि सम्मान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले जनही १ लाख ११ हजार र विराटनगर महानगरपालिकाले जनही १ लाख १ हजारसहित सम्मान गर्नेछ ।
यसैबीच, भूतपूर्व खेलाडी मञ्च पोखराले सिनियर टोलीका क्रिकेटर करण केसीसहित यु–१९ का सुवास भण्डारी, अर्जुन कुमाल र दीपक डुम्रेलाई पोखरामा नगदसहित सम्मान गरेको छ । मञ्चले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण योगदान गरेका बागलुङका केसीसँगै यु–१९ विश्वकपमा छनोटमा पुर्‍याउने टोलीका सदस्यत्रय कास्कीका सुवास भण्डारी, अर्जुन कुमाल र नवलपुरका दीपक डुम्रेलाई सम्मान गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]