१९औँ एसियाली खेलकुदको उद्घाटन, प्रधानमन्त्री प्रचण्ड सहभागी
काठमाडौं । एसियाली खेलकुदको १९ औ संस्करण चिनको ह्याङचउ शहरमा शनिबारदेखि औपचारिक रुपले सुरु भएको छ । ह्याङचउको ओलम्पिक स्पोर्ट्स सेन्टरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले भव्य समारोहकाबिच १९ औं एसियाडको औपचारिक उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री प्रचण्ड समेत सहभागी भएका थिए ।
१९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन शनिबार मात्रै गरिएको हो ।
उद्घाटन समारोहमा सहभागी ४५ वटै देशका खेलाडीले मार्च पास गरेका थिए । सहभागी खेलाडी र जजको तर्फबाट एक एक जनाले सपथ लिएका थिए । एसियाडको टर्च बालेपछि अन्तिममा १९ औं एसियाडको आधिकारिक गीत ‘द लभ वि सेयर’ को प्रस्तुति सँगै उद्घाटन समारोह सकिएको थियो ।
कमलको फूलजस्तै आकारमा रहेको उद्घाटन स्थल ‘बिग लोटस’को नामले समेत चिनिन्छ । एसियाडको समापन पनि यही रंगशालामा हुनेछ ।
चीनमा तेस्रो पटक आयोजना भइरहेको एसियाड एसियाली खेलकुदको इतिहासमै सहभागिताको हिसाबले सबैभन्दा ठूलो बनेको छ । यस पटक एसियाडमा ४५ देशका १२ हजार ४ सय १७ खेलाडीले ४० खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
सन् १९५१ मा छिमेकी भारतबाट सुरु भएको एसियाड चीनले यसअघि सन् १९९० र २०१० मा आयोजना गरेको थियो ।