महिला टी-२० विश्वकप यूएईमा

२०८१ भाद्र ५ गते, बुधबार


काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बंगलादेशमा हुने भनिएको आईसीसी महिला टी-२० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स (यूएई) मा सारिएको जनाएको छ । यसअघि महिला विश्वकप आगामी अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय थियो । तर बंगलादेशमा भएको पछिल्लो विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा प्रतियोगिता हुने नहुने अनिश्चित बनेको थियो ।
यसअघि भारतलाई महिला टी२० विश्वकप आयोजनाका लागि प्रस्ताव गरेपनि भारतले अस्वीकार गरेको थियो । अब महिला टी-२० विश्वकप यूएईको दुई शहर दुबई र शारजहामा हुने आईसीसीले जनाएको छ ।
आईसीसीका प्रमुख कार्यकारी जेफ एलार्डासले बंगलादेशमा विश्वकप आयोजना गर्न नपाउनु लाजमर्दो कुरा रहेको बताएका छन् ।
यस्तै विश्वकप आयोजकको रुपमा आगाडी आएको इमिरेट्स क्रिकेट बोर्डलाई एलार्डासले धन्यवाद दिएका छन् । आईसीसीको हेडक्वाटर रहेको यूएई पछिल्लो समयम क्रिकेट प्रतियोगिताहरुको लागि हब नै बनेको छ । यूएईले सन् २०२१ मा ओमानसँगै टी२० पुरुक्ष विश्वकपका साथै विभिन्न छनोट प्रतियोगिताहरु आयोजना गरिसकेको छ । विश्वस्तरीय पूर्वाधार र सुविधा भएको यूएई महिला टी-२० विश्वकप आयोजनाका लागि सबै किसिमले तयार रहेको आईसीसीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]