एनपीएलको ट्रफी अनावरण

२०८१ मंसिर १० गते, सोमबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले सुन्धारास्थित धरहरा परिसरबाट नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित उक्त कार्यक्रममा ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन महत्वपूर्ण रहेको बताए । उनले एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताउँदै सबैलाई शुभकामना दिए ।
ट्रफी अनावरण कार्यक्रममा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का सहभागी थिए ।
प्रतियोगिताको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]