एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कार पुरस्कार
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार पुरस्कार दिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार प्रदान गर्ने भएको हो । प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ नेपाली खेलाडी घोषित भएमा उक्त खेलाडीले यो विशेष सम्मान पाउने छन् । विदेशी खेलाडी ‘प्लेयर अफ द सिरिज’ भएमा चाहिँ कार बाहेक अन्य पुरस्कार पाउने छन् र उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पाउने छन् ।
त्यसैगरी अटोमोबाइल ब्रान्ड ओमोडा एन्ड जेइकोले लिगमा सहप्रायोजन गर्ने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरी क्यानले ओमोडाको आधिकारिक विक्रेतासँग सम्झौता गरेको हो । क्यानका सचिव र क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र ओमोडाको आधिकारिक विक्रेता एसजीपी आटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
निर्देशक शारडाले ओमोडा एन्ड जेइको र एनपीएलबीचको सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासमा टेवा पुर्याउने बताए ।