एनपीएलको टिकटमा त्रिविका विद्यार्थीलाई ५० प्रतिशत छुट
काठमाडौँ । आज (शनिबार)देखि सुरू हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको टिकट खरिद गर्दा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले छुट पाउने भएका छन् । त्रिविमा अध्ययनरत विद्यार्थीहरूले एनपीएलको टिकट खरिद गर्दा ५० प्रतिशत छुट पाउने भएका हुन् । क्यानले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो । विज्ञप्तिमा भनिएको छ-‘प्रतियोगिता अवधिभरका लागि त्रिवि मैदान कीर्तिपुरमा हुने खेलहरूका लागि क्यान र त्रिभुवन विश्वविद्यालयबीच भएको सम्झौता अनुसार त्रिविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि टिकट खरिदमा ५० प्रतिशत छुट कायम गरिएको छ।’
क्यानले लिग चरणका खेलहरूमा जनरल टिकटको रु ३०० तथा भीआईपी टिकटको रु ५०० तोकेको छ । त्यसैगरी प्लेअफमा जनरलको ५०० र भीआईपीको ७०० रुपैयाँ तथा फाइनलको दिनमा सामान्यको ५०० र भीआईपी टिकटको १००० रुपैयाँ तोकिएको छ ।
८ टोली सम्मिलित एनपीएल शनिबारदेखि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुँदै छ । उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्दै छन् ।