एनपिएल फाइनल खेल : अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले पक्राउ पर्नेमा डोटी आदर्श गाउपालिकाका २१ वर्षीय अशोक साउद र डोटी दीपायल सिलगढी नगरपालिकाका १९ वर्षीय गणेश साउद रहेको जानकारी दिए।
नेपाल क्रिकेट सङ्घको आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यही पुस ६ गते भएको जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्सबीचको खेलपछि केही व्यक्तिहरुबीच झगडा भएको थियो।
त्यसक्रममा केही व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको सम्बन्धमा बिभिन्न निकाय तथा सञ्चारमाध्यममार्फत र पीडितका जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी जारी रहेको उनले जानकारी दिए।