सभापति कप फुटबल : संकटा र मच्छिन्द्र भिड्दै

काठमाडौँ । फ्रेन्ड्स क्लबलाई हराउँदै न्युरोड टिम (एनआरटी) सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा आज संकटा क्लब र मछिन्द्र फुटबल क्लब भिड्नेछन् । खेल वेलुकी साढे ५ बजे शुरु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा फ्रेन्ड्सलाई ३–१ ले हराउँदै एनआरटी सेमिफाइलनमा पुगेको हो ।
एनआरटीका लागि कप्तान अञ्जन विष्टले दुई तथा रिचार्ड विल्सनले एक गोल गरे । फ्रेन्ड्सका कप्तान विवेक पौडेलले एक गोल फर्काए । जितसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
यस्तै दोस्रो सेमिफाइनलमा भोलि एनआरटी र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश भिड्नेछन् । फाइनल खेल बिहीबार हुनेछ ।