अविरल घिमिरेलाई ‘के वन क्रस १७५’ उपाधि

काठमाडौँ । नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। ‘हिमालयन चितुवा’को नामले विश्व परिचित बक्सर घिमिरेले पहिलो पटक तीनवटा अन्तर्राष्ट्रिय ‘किक बक्सिङ टाइटल’ हात पारेका हुन् ।
बक्सर घिमिरेले जापानको ओसाका सहरमा आइतबार सम्पन्न विश्व प्रसिद्ध ‘के वन क्रस १७५’को उपाधि चुम्दै नयाँ कीर्तिमान बनाएका हुन्। उनी जापानी किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कलाई दोस्रो राउण्डमा परास्त गर्दै विश्व ‘च्याम्पियन’ बनेका हुन्।
‘च्याम्पियन’ जिन्कलाई रिङ्मा ढाल्ने बक्सर घिमिरे पहिलो नेपाली खेलाडी बनेको बक्सर अविरलका पिता एवं पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुलकन्ट्र्याक कराँते खेलाडी देव घिमिरेले जानकारी दिए। उनका अनुसार ‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ।
प्रतियोगिताका लागि बक्सर अविरलले थाइल्याण्डको फुकेट सहरस्थित टाइगर मोथाई क्लबमा करिब डेढमहिना आफ्नै खर्चमा बन्द प्रशिक्षण लिएका थिए।
किक बक्सिङ खेल क्षेत्रमा एकपछि अर्को ऐतिहासिक कीर्तिमान बनाउन सफल बक्सर अविरलले हालै ‘के वान वर्ल्ड म्याक्स २०२५’ प्रतियोगिताको उपाधि चुमेका थिए। – रासस