श्रीलंकाविरुद्ध नेपालको शानदार जित, साम्बाको ह्याट्रिक

काठमाडौँ । एएफसी एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । उज्वेकिस्तानमा भएको खेलमा नेपालले श्रीलंकालाई ८–० गोलअन्तरले पराजित गरेको हो । नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन् ।उनले खेलको २० औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरिन् । गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एकएक गोल गरे ।
पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ४ गोल गर्यो । यसअघि आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० को गोलअन्तरले पराजित गरेको थियो । नेपालले अब शुक्रबार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ ।
उज्वेकिस्तानलाई हराउन सके नेपाल सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।