फिफा वरियतामा नेपाली महिला टिम ८७औं स्थानमा

२०८२ श्रावण २३ गते, बिहीबार


काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाली महिला फुटबल टोली १३ स्थान उक्लिँदै ८७औं स्थानमा पुगेको छ । यसअघि एक सयऔं स्थानमा रहेको नेपालले अब १२४८.८९ अंकसहित ८७औं स्थानमा स्थान बनाएको छ, जुन नेपाली महिला फुटबलको इतिहासमै हालसम्मको सबैभन्दा उच्च फिफा वरियतामा पर्न सफल उपलब्धि हो।
नेपालले हालै सम्पन्न एसियन फुटबल कन्फेडेरेसन (एएफसी) महिला ओलम्पिक छनोट प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेको थियो। समूह चरणमा नेपालले लाओसलाई ९–० तथा श्रीलंकालाई ८–० गोल अन्तरले पराजित गरेको थियो। त्यसपछि उज्वेकिस्तानसँगको निर्णायक खेलमा निर्धारित ९० मिनेटमा ३–३ को रोमाञ्चक बराबरी खेलेको नेपाल टाइब्रेकरमा भने ४–२ ले पराजित भएको थियो।
यस्ता जितहरूले नेपालको फिफा वरियतामा उल्लेख्य प्रभाव पारेको हो। नेपाल दक्षिण एसियाली राष्ट्रहरूमध्ये हाल दोस्रो स्थानमा उक्लिएको छ। फिफा वरियतामा भारत महिला टिम ६१औं स्थानमा रहेको छ भने बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र पाकिस्तानभन्दा नेपाल निकै अगाडि पुगेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अधिकारीहरू र प्रशिक्षक टोलीले यस प्रगतिलाई टोलीको कठिन परिश्रम, युवापुस्ताको योगदान, र तयारीको नतिजा भन्दै स्वागत गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]