१७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप : नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार दिउँसो पौने ३ बजे खेल सुरु हुने तय भएको छ। नेपालले प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्य लिएको छ। यसअघि नेपालले सन् २०२२ मा यो प्रतियोगिताको उपाधि जितेको थियो। यस संस्करणको साफ च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भारत र बंगलादेश सहभागी छन्। लिग चरणमा सबै टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नेछन्। अंक तालिकामा शीर्ष स्थानमा रहने टोली नै विजेता घोषणा गरिनेछ।
नेपालले आगामी खेल अन्तर्गत भदौ १३ गते भारतसँग, ६ र १५ गते भुटानसँग तथा भदौ ८ र ११ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम छ। प्रतियोगिताका लागि नेपाली टोली सोमबार नै भुटान पुगेको हो।