टप एन्ड टि–२० सिरिज: नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गरेको हो । जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको मेलबर्न रेनेगेड्स २० ओभरमा अल आउट हुँदै १ सय ६ रनमा समेटियो । मेलबर्नका लागि अर्जुन नेरलसईले ३६, हयारी डिक्सनले १६, ओलिभर पिकेले १४, जल लेमिरेलसई १८, हयारी होक्स्ट्राले ११ रन बनाए ।
नेपालका लागि सोमपालले सानदार बलिङ गर्दै ५ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै १७ रन खर्चिएर ५ विकेट लिएका हुन् । कुशल मल्लले ३ तथा सहाब आलाम र रूपेश सिंहले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले २९, भीम सार्की दिपेन्द्रसिंह ऐरीले समान २७–२७, लोकेश बमले २४, आरिफ शेखले १२ र रुपेश सिंहले अविजित १६ रन बनाए । बलिङमा फर्गस ओ नेल, कालुम स्टो, लाचियन बाङ्स र माइकल आर्चरले समान २–२ विकेट झारे । ५ खेलमा नेपालले लगातार दोस्रो जित निकालेको हो ।