भारत आइसीसी महिला क्रिकेट विश्वकपको फाइनलमा
 
                काठमाडौँ । गएराती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै आइसीसी महिला क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य पछाएको भारतले ४८.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । भारतले महिला क्रिकेटको एक दिवसीय इतिहासकै सबै भन्दा ठुलो लक्ष्य पछाएर जित हासिल गरेको हो । भारतको जितमा जेमिमा रोड्रीगोले अविजित १२७ रन बनाएकी थिइन् भने कप्तान हरमनप्रित कौरले ८९ रन बनाएकी थिइन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले फोएबे लिचफिल्डको ११९ रनको शतकीय पारी र एलिस पेरीको ७७ रनको मद्दतले ४९.५ ओभरमा अलआउट हुँदै ३३८ रन बनाएको थियो ।
भारतले अब आइतबार हुने फाइनल खेलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ, जसले पहिलो सेमिफाइनलमा इङ्गल्यान्डलाई पराजित गरेको थियो ।
भारत विश्वकपको फाइनलमा पुगेको यो तेस्रो पटक हो । भारत यसअघि २००५ र २०१७ मा फाइनलमा पुगे पनि उपविजेता मै चित्त बुझाएको थियो ।

 
                 
                             
                             
                         
                        