इंग्लीश प्रिमियर लिग फुटबल: आर्सनल, सिटी र लिभरपुल विजयी
काठमाडौँ । गएराति एभर्टनको मैदानमा भएको इंग्लीश प्रिमियर लिग फुटबल खेलमा आर्सनल, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । खेलमा आर्सनल १–० ले विजयी भएको थियो। आर्सनलको लागि भिक्टर ग्योकेरेसले २७ औं मिनेटमा पेनाल्टीमार्फत विजयी गोल गरेका थिए ।
गएराति भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले हरायो । सिटीको लागि अर्लीङ हाल्याण्डले दुई गोल गर्दा टिजानी राइन्डर्सले एक गोल थपे । गएराति नै भएको अर्को खेलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई २–१ ले हरायो । लिभरपुलका अलेक्जेण्डर इसाक र ह्युगो इकेतिकेले एक एक गोल गरे ।
टोटनह्यामका रिचार्लीसनले एक गोल फर्काए । गएराति चेल्सीलाई न्युकासल युनाइटेडले २–२ गोलको बराबरीमा रोक्दा बर्नमाउथ र बर्न्लेले १–१ गोलको बराबरी खेले । यसैगरि लिड्स युनाइटेडले क्रिष्टल प्यालेसलाई ४–१ ले हराउँदा ब्रेन्टफोर्डले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–० ले पाखा लगायो ।
गएरातिका खेलहरुपछि प्रिमियर लिगमा १७ खेलबाट ३९ अंक जोडेको आर्सनल शिर्ष स्थानमा यथावत छ । समान खेलबाट ३७ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको एस्टन भिल्ला ३३ अंकसहित तेस्रो स्थानमा छ । चौथो र पाँचौ स्थानमा रहेका चेल्सी र लिभरपुलको समान २९ अंक छ ।
