बुढासुब्बा गोल्डकप फुटबल आजदेखि : धरान र जर्जियन क्लबबीच प्रतिस्पर्धा हुने
काठमाडौँ । २०५५ सालदेखि धरान फुटबल क्लबले सञ्चालन गर्दै आएको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण धरान रंगशालामा आजदेखि शुरू हुने भएको छ । बुढासुब्बा गोल्डकप काठमाडौं उपत्यकाबाहिर आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हो । प्रतियोगिताको उद्घाटन खेल बिहीबार दिउँसो साढे २ बजे आयोजक धरान फुटबल क्लब र भारतको जर्जियन क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
आयोजकले यस पटक धरानकै स्थानीय खेलाडीलाई मैदान उतार्ने तयारी गरेको हो । भारतको जर्जियन क्लब भने बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागी हुँदैछ । प्रतियोगितामा साविक विजेता एनआरटी, उपविजेता चर्च ब्वाइज युनाइटेड, भारतको जर्जियन क्लब, सातदोबाटो युथ क्लब, नेपाल पुलिस क्लब, पोखराको लालीगुराँस एसोसिएसन, झापा–११, भुटानको रोयल थिम्पु एफसी र आयोजक धरान फुटबल क्लब गरी १० टोली सहभागी हुने भएका छन ।
प्रतियोगिताको विजेताले ट्रफी र मेडलसहित १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर प्रात गर्ने भएका हुन् । जसका लागि फाइनल खेल्ने दुई टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरिनेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।
उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइने छ । सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ प्रात गर्ने भएका हुन् । प्रतियोगितामा कूल १ करोड ७ लाख रुपैयाँ आम्दानी र ८७ लाख १५ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान गरको छ । प्रतियोगिता आगामी फागुन २ गतेसम्म संचालन हुने आयोजकले जनाएको हो ।
