आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि
काठमाडौँ । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्ताराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप माघ २७ देखि हुने भएको छ। आयोजकले उक्त फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार २५औँ संस्करणको सो प्रतियोगितामा विदेशका तीन र नेपालका आठ गरी १२ टोलीले उपाधिका लागि प्रस्पिर्धा गर्नेछन्। अध्यक्ष थापाले प्रतियोगिताको पुरस्कार राशि बढाइएको जनाउँदै च्याम्पियन टोलीले रु. १४ लाख एक हजार, उपविजेताले रु. सात लाख एक हजार पाउने बताए।
गतवर्ष उपाधि विजेताले रु. १२ लाख एक हजार र उपविजेताले रु. ६ लाख एक हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। “प्रतियोगिताको आकर्षण बढाउने उद्देश्यले यो वर्ष विगतको तुलनामा पुरस्कार बढाएका छौँ भने रात्रिकालीन फुटबलले यहाँको फुटबल माहोल बढाउने विश्वास छ”, थापाले भने।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टेलजी कम्पनीको इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउँदा, अनुशासित टोली, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, प्रशिक्षक र सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही रु. २५ हजारका साथमा ट्रफी पुरस्कार पाउने सहाराले जनाएको छ। यसैगरी हरेक म्याचमा ‘म्यान अफ दि म्याच’ पुरस्कार रु. १० हजार र ट्रफी रहेको छ।
प्रतियोगितामा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, जावलाखेल युवा क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब र आयोजक टोली सहारा क्लब पोखरा रहेका छन्।
यसैगरी विदेशी टिमका रूपमा उज्वेकिस्तानको आभा फुटबल क्लब, भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब सहभागी हुनेछन्। आयोजक सहाराले यो वर्ष अस्थायी फ्लड लाइट जडान गरेर रात्रिकालीन समयमा खेल सञ्चालन गर्ने जनाएको छ। क्लबका अध्यक्ष थापाले ३५ फिट उचाइको अस्थायी फ्लडलाइट जडान गरी सन्ध्याकालीन खेल सञ्चालन गरिने जानकारी दिए। खेलको पहिलो हाफ उज्यालोमा र दोस्रो हाफ साँझको अध्यारोमा खेलाइनेछ।
